
काठमाडौं, ४ असोज । सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकसँग वार्ता थालेको छ ।
हिजो बुधबार काठमाडौंमा विशाल प्रदर्शन गरेका शिक्षकहरुसँग सरकारले वार्ता थालेको हो । बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बसेको वार्ता भने निष्कर्षविहीन भएको छ ।

वार्तामा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए । उनले प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन जोड दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । वार्तामा शिक्षामन्त्री अशोक राई समेत उपस्थित थिए ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा बुधबार देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका थिए ।
आजपनि माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको महासंघले जनाएको छ ।
सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।











प्रतिक्रिया