७ कार्तिक २०८३, शनिबार

आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्छ: राष्ट्रपति पौडेल (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलव्धिहरूलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने पौडेलको भनाइ छ ।

उनले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गरे । पौडेलले व्यवस्था परिवर्तन भएपनि देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेकाले राज्यको चरित्रको पुन: संरचना आवश्यक रहेको बताए । मुलुकको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको धारणा राखे । उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको जिकिर गरे ।

उनले सुशासन नै मुलुकको अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए ।