मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

“संविधानको कार्यान्वयन आजको आवश्यकता”

युवराज रोईला २०८० असोज ३ गते १०:१६

युवराज रोईला

काठमाडौं, ३ असोज । संविधान देशको मूल कानुन हो । यसले राज्य तथा शासन संचालन प्रक्रियाको सुनिश्चितता गर्दछ । साथै यो नै हरेक देशको सर्वोच्च शासकीय दस्तावेज हो । विश्वमा मुलतः संविधान लिखित र अलिखित गरेर दुई किसिमका रहेका छन । बेलायत बाहेक अन्य देशमा लिखित संविधानहरु रहेका छन् ।

नेपालमा संवैधानिक विकासको इतिहास त्यति लामो छैन, जुन अन्य मुलुकमा छ । यहाँ सन १९४७ बाट लिखित संविधानको अभ्यास भएको पाइन्छ । हाल नेपालको संविधान २०७२ सम्म आइपुग्दा सात वटा संविधान जारी भैसकेका छन् ।

मुलुकले हालसम्म नेपाल सरकार वैधानिक कानुन २००४, अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ पाएको छ ।

मुलुकमा हालसम्म जारी भएका संविधानका विशेषताका आधारमा आम जनताको नजरमा समेत परेका संविधानहरु क्रमशः नेपाल सरकार वैधानिक कानुन २००४, नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको संविधान २०७२ रहेका छन । जसमा पनि कानुनविदहरुले नेपाल अधिराज्यको संविधान २०४७ उत्कृष्ट संविधान र नेपालको संविधान २०७२ लाई ९५ प्रतिशत जनताका प्रतिनिधिहरुको हस्ताक्षरबाट जारी भएको संविधानको रुपमा अर्थ्याउने गरेको पाइन्छ ।

मुलुकले ३५ भाग, ३०८ धारा, ९ वटा अनुसूची सहितको संविधान पायो । जसमा जनता नै सर्वोच्च मानियो । जनताका बृहत् मौलिक अधिकारको व्यवस्था गरियो । सार्वभौमसत्ता जनतामा निहित बनाइयो । कानुनी राज्यमा कानुन सबैलाई बराबर भनियो । तर वर्तमान परिप्रेक्षमा यसको कार्यान्वयन ठिक विपरीत भएको आम मानिसको समेत बुझाई रहेको पाईन्छ । संविधान कार्यान्वयनको जटिलता आजको साझा प्रश्न बन्न पुगेको छ ।

मुलतः मुलुक संघीयतामा गएपछी एक केन्द्र सरकार, सात प्रदेश सरकार, ७५३ स्थानीय सरकार निर्माण भएपछी झन कानुनको अवमूल्यन भएको संविधानविद भिमार्जुन आचार्य बताउनुहुन्छ । उक्त कुराको आभास आम जनमानसको नजरमा समेत बोध हुन थालेको उनको बुझाई रहेको छ ।

अन्तमा कानुनको नजरमा कसैलाई काखा र कसैलाई पाखा गर्ने काम नहोस् , संविधान सतप्रतिशत कार्यान्वयन होस, आम जनताले समेत कानुनी राज्यको आभास र महसुस गर्न सकुन, संविधान दिवसलाई तपाइँ हामी स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण नेपाली आमाबाबु, दिदिबहिनी तथा दाजुभाइले हर्षोल्लासका साथ मनाऔं, संविधान दिवसको तपाइँ सबैमा मेरो शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित