
काठमाडौं, २ असोज । नेकपा एमालेले संविधान सभाका अध्यक्ष तथा पार्टीका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सात वटै प्रदेशमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंमा केन्द्रीय कमिटीले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे भने अन्य प्रदेशहरूमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूले सम्बोधन गरे ।
जस अनुसार मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कोशी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रवचन कार्यक्रममलाई मुख्य वक्ताका रूपमा सम्बोधन गरे ।
काठमाडौं
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दु:खद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको जानकारी दिए । संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै उनले आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सुवासचन्द्र नेम्वाङले सधैं सहमतीका लागि भूमिका निर्वाह गरेको बताए भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेम्वाङले नेतृत्व नगरेको भए संविधान जारी गर्न सम्भव नहुने अवस्था सृजना भएको स्मरण गरे ।
यस्तै, नेकपा माओवादी केन्द्रकी नेतृ एवम् पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताइन् । यसैगरी, लोसपाका नेता सर्वेन्द्रनाथ शुक्ला, संविधानविद् नीलाम्बर आचार्यलगायतले स्वर्गीय नेम्वाङको अतुलनीय भूमिकाको स्मरण गरे ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सुवास नेम्वाङकै अगुवाइमा संविधान सभाबाट संविधान जारी भएको र मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्न सकिएको विचार व्यक्त गरे । कार्यक्रममा स्वर्गीय नेम्वाङकी धर्मपत्नी र छोरीको पनि सहभागिता थियो ।
जनकपुर
मधेश प्रदेशको जनकपुरमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र र बाहिर नेपाली राजनीतिमा छुट्टै मानक स्थापना गरेर उपाध्यक्ष सुवास नेम्वाङले महाप्रस्थान लिएको बताए । उनले पार्टीभित्र हुने पटक–पटकको अन्तरविरोधमा रसायन लगाउने काम गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने काममा नेम्वाङको महत्वपूर्ण र असाधारण योगदान रहेको चर्चा गरे ।

यस्तै, पार्टी सचिव योगेश भट्टराईले मुलुकमा भएका विभिन्न कालखण्डको आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उपाध्यक्ष नेम्वाङको निधनबाट देशलाई नै क्षति पुगेको बताए । कार्यक्रममा लीलानाथ श्रेष्ठ, जुली महासेठ, राजकिशोर यादव, प्रदेश मन्त्री सुरिता शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बुटवल
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङकै कारण मुलुकमा संविधान जारी हुन सकेको बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रवचनमा उनले नेपालमा सिक्किमको जस्तो घटना दोहोर्याउने खेल भएको र त्यसलाई पनि नेम्वाङले बुद्धिमतापूर्वक निस्तेज पारेको उल्लेख गरे ।

एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले भारतीय दबाब, युरोपियन युनियनको चलखेलका बाबजुत निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गरेको चर्चा गरिन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँ, राप्रपाका महामन्त्री ताहिर अली, नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित व्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको चर्चा गरे ।
पोखरा
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सुवास नेम्वाङसँग सबैलाई मिलाउन सक्ने खुबी भएका कारण नै तत्कालीन अवस्थामा संविधान जारी हुन सकेको बताइन् । गण्डकी प्रदेशको पोखरामा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचनमा उनले स्वर्गीय नेम्वाङको प्रभावशाली र शालिन शैली सबैका लागि अनुकरणीय रहेको चर्चा गरिन् ।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुँदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने संयम र धैर्यवान व्यक्तित्व सुवास नेम्वाङ भएको बताए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरुङ र थममाया थापा तथा गण्डकी प्रदेश सरकारका कृषिमन्त्री महेन्द्रध्वज जीसी, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङलगायतले नेपालको संविधान निर्माणमा नेम्वाङको योगदानका विषयमा चर्चा गरेका थिए ।
इलाम
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कोशी प्रदेशको इलाममा आयोजित प्रवचनमा संविधान सभाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ संसदलाई कुशलतापूर्वक नेतृत्व दिने व्यक्ति भएको बताएका छन् । उनले नेम्वाङको कुशल नेतृत्वका कारण संविधान जारी भएको र त्यही संविधानको जगमा अहिले नेपाली राजनीति उभिएको चर्चा गरे ।

कार्यक्रममा स्वर्गीय नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि आफ्नो बुबाको सपना पूरा गर्न नेकपा एमालेसँग हातेमालो गर्ने बताएका छन् । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनुपर्ने नठान्ने तर बुबाको सपना पूरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढिरहने प्रतिवद्धता उनले व्यक्त गरे ।
धनगढी
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वर्गीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधान सभाको नेतृत्वकर्ताका साथै बहुप्रतिभाको धनी समेत भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित प्रवचनमा उनले नेम्वाङको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति पुगेको बताएका हुन् ।

जस्तोसुकै असहज परिस्थितिको सामना सालिनतापूर्वक गर्ने सामर्थ्य राख्न सक्ने नेम्वाङ फरक–फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा रहेको उपाध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेपाली काँग्रेसका कार्यवाहक प्रदेश अध्यक्ष लोकराज अवस्थीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सुर्खेत
यसैबीच, कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रमलाई उपाध्यक्ष सुरेन्द्र पाण्डेले सम्वोधन गरे । त्यस क्रममा उनले दिवंगत भएका संविधान सभाध्यक्ष सुवास नेम्वाङलाई आफूहरूले पार्टीमा सल्लाहकारको भूमिकामा देख्ने गरेको बताए । हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता लगायो भनेर नेम्वाङमाथि गम्भीर आरोप लगाइए पनि त्यो गलत भएको टिप्पणी उपाध्यक्ष पाण्डेको छ ।

सात वटा प्रदेश विभाजनमा पनि नेम्वाङको महत्वपूर्ण योगदान रहेको भन्नुहुँदै उपाध्यक्ष पाण्डेले उनको निधनबाट एमालेले राजनीतिको कोशेढुङ्ग गुमाएको बताए । कार्यक्रममा पार्टी सचिव लेखराज भट्टलगायत नेताहरूले नेम्वाङले संविधान निर्माण र कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।













प्रतिक्रिया