२९ आश्विन २०८३, बिहिबार

सुवास नेम्वाङले नेतृत्व नगरेको भए संविधान जारी हुने थिएन : रामबहादुर थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २ असोज । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुवास नेम्वाङले संविधान सभाको नेतृत्व नगरेको भए नेपालमा नयाँ संविधान नै जारी नहुने बताएका छन् ।

हालै दिवंगत भएका पार्टी उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष नेम्वाङको सम्मानमा आज मंगलबार कोशी प्रदेशको इलाममा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले सुवास नेम्वाङको कुल नेतृत्वकै कारण संविधान जारी भएको बताएका हुन् ।

यदि सुवासको ठाउँमा अरु कोही अध्यक्ष भएको भए पनि सम्भवत: संविधान जारी हुने थिएन भन्दै उनले नेम्वाङको क्षमता, कार्यशैली र राजनीतिक इमानदारिता अरु कसैसँग तुलना हुन नसक्ने पनि बताए । नेम्वाङ संसदलाई कुशलतापूर्वक नेतृत्व दिने व्यक्ति भएको थापाको भनाइ थियो ।

नेम्वाङको कुशल नेतृत्वका कारण संविधान जारी भएको र त्यही संविधानको जगमा अहिले नेपाली राजनीति उभिएको चर्चा उपाध्यक्ष थापाले गरे ।

कार्यक्रममा स्वर्गीय नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि आफ्नो बुबाको सपना पूरा गर्न नेकपा एमालेसँग हातेमालो गर्ने बताएका छन् ।

आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनुपर्छ भन्ने आफूलाई नलाग्ने बताउँदै उनले आफ्नो बुबाको सपना पूरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।