
काठमाडौं, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व. गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन् ।
आज मंगलबार भक्तपुरको कटुञ्जेमा गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले निर्माण गरेको सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेको भन्दै सबैले प्रेरणा लिनुपर्ने बताएका हुन् ।
२०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता सिंह भएको उनले स्मरण गरे । राष्ट्रपति पौडेलले जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासनविरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाका रुपमा सिंह रहेको बताए ।
जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उनले सबै दलका नेतालाई प्रेरणा दिएको राष्ट्रपति पौडेलको भनाइ छ ।
त्यस्तै, अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताए । मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरू गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले वाटिका एवम् प्रतिमा निर्माणका परिकल्पनाकार एवम् पूर्वसांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरेका थिए ।













प्रतिक्रिया