
रूपन्देही, २ असोज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा सिक्किमको घटना दोहोर्याउने खेललाई संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताएका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीले आज मंगलबार बुटवलमा आयोजना गरेको नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालमा सिक्किमको जस्तो घटना घटाउन खोजिए पनि सुवास नेम्वाङले त्यसलाई बुद्धिमतापूर्वक रोकेको बताएका हुन् ।
स्वर्गीय नेम्वाङकै पहलमा नेपालको संविधान जारी हुन सकेको चर्चा गर्दै उनले भने, ‘संविधान सभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा उहाँबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएका हुन्, नेपालमा सिक्किमको घटना दोहोर्याउने खेल हुँदै थियो, यो सूचना सुवासजीलाई थाहा थियो । त्यसैले संविधान जारी गर्न उहाँ हतारिनुभएको थियो । ड्राफ्ट भइसकेको संविधान जारी नगर्न दवाव थियो । जारी गर्ने व्यक्तिले गर्ला कि नगर्ला भन्ने थियो । उहाँ दलहरूलाई भेटेर संविधान जारी नभए मुलुक नरहन सक्छ भनेर भनिरहनुभएको थियो ।’
उपाध्यक्ष ज्ञवालीले त्यसबेलाको परिस्थिति स्मरण गर्दै अगाडि भने, ‘उहाँ भन्नुहुन्थ्यो, संविधान जारी भयो तर यो आफै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौँ रु लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं रु’

नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिङ्गै देश एकजना व्यक्तिको अभावमा शोकमग्न भएको बताए । ‘उहाँ एमालेको मात्र नेता होइन, सवैको साझा नेता हुनुहुन्थ्यो भन्ने सबैको धारणाले देखाएको छ, उहाँ चुनाव कहिल्यै नहार्ने व्यक्ति हो तर राष्ट्रपतिको चुनावमा हार्ने थाहा थियो र पनि उठेर हार्नुभयो । वार, संविधानसभा, विद्यार्थी चुनावमा कहिँ हारेको रेकर्ड नै छैन । सबैको प्रिय हुनसक्ने मान्छे अपवाद नै हुन्छ,’ ज्ञवालीले भने ।
धनी र सुशिक्षित परिवारमा जन्मेको कम्युनिष्ट आचरण भएको व्यक्ति, चित्त नबुझे पनि मिठो शैलीमा भन्न सक्ने भएकाले यस्तो बोलीमा तागत हुने र आफूलाई लागेको प्रष्ट भन्ने, तर चित्त वुझाएर भन्न सक्ने क्षमता नै नेम्वाङमा रहेको ज्ञवालीले बताए ।
एमालेका सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले भारतीय दवाव, युरोपियन युनियनको चलखेलका बाबजुत निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताइन् । ‘त्यतिवेला धेरै जटिलता थिए, परिवर्तनलाई सस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन। नेपालको संविधान कुन बाटोमा लैजाने रु यो प्रश्न पनि थियो । जसको समाधान संविधान सभाबाट उहाँकै पहलमा भयो,’ अर्यालले भनिन्, ‘नेपालमा अस्थिरता सृजना गरेर स्वार्थ लिन खोज्नेहरू थिए । युरोपियनको चलखेलको स्वार्थ थियो । भारतका विदेश सचिवको दौडधुप कति थियो । ती सबैलाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय थिएन । उहाँले हरेक प्रतिकुलतालाई अनुकुलतामा बदलेर सचेतनापूर्वक चालिएका कदमले संविधान जारी हुन सक्यो ।’
सचिव अर्यालले नेम्वाङसँग सबैलाई मिलाउन सक्ने क्षमता रहेको स्मरण गरिन् । ‘विभिन्न दिशामा रहेकालाई एउटै ठाउँमा ल्याउने खुवी थियो । अरू कोही पात्रबाट सो काम हुन सक्दैनथ्यो । व्यक्ति व्यक्तिलाई राखेर कुरा गर्नसक्ने, सबैको साझा दाई बन्न सक्ने, असहज अवस्थालाई सहज बनाउन सक्ने, सबैको अभिभावकत्व लिन सक्ने व्यक्ति हो । वास्तवमा यस्तो मान्छे के मुलुकले फेरि पाउला रु’
एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा रूपन्देही अध्यक्ष तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खट्किरहने बताए । ‘संविधान जारी गर्नु चानेचुने कुरा थिएन । सो अवस्थामा जिम्मेवारीपूर्वक काम गरेर दुई पटक नै सो जिम्मा लिएर गाँठो फुकाउन सक्नुभयो, सबैलाई जोड्न सक्ने खुबी थियो । उहाँ संविधानविद् मात्र हैन राजनीतिज्ञ पनि हो । मुलुक कता लैजाने भन्ने स्पष्ट दृष्टिकोण पनि थियो ।’
राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने जनाए ।
नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित व्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताए । राष्ट्रिय जनमोर्चाका रूपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलंक भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदानलाई सधैभरी स्मरणयोग्य रहने बताए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यहरू लिला गिरी र दधिराम न्यौपाने, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले सुवास नेम्वाङका योगदानहरूको बारेमा चर्चा गरेका थिए ।













प्रतिक्रिया