२९ आश्विन २०८३, बिहिबार

पोखरा पुगेका एमाले नेताहरूले सुवासचन्द्र नेम्वाङबारे के भने ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ असोज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

पार्टीकी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सुवास नेम्वाङसँग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालीन अवस्थामा संविधान जारी हुन सकेको बताइन् । शाक्यले स्वर्गीय नेम्वाङको प्रभावशाली र शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गरिन् ।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुँदालाइ सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने संयम र धैर्य व्यक्तित्व सुवास नेम्वाङ भएको बताए । पार्टी भित्रका द्वन्द्वलाई सोच विचार गरेर समाधान निकाल्ने नेम्वाङको शैलीकै कारण संविधान निर्माण सम्भव भएको उनको भनाइ थियो ।

सचिव बिष्टले एमालेबाट सभामुख र संविधान सभा अध्यक्ष भए पनि संसदीय मर्यादा र शैलीलाई उनले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्नलायक नेता भएको उल्लेख गरे ।

यस्तै, एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्वाङ नेपाली राजनीतिको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गरे । गुरुङले सार्थक कुशल बहसमार्फत प्रभावकारी नेतृत्व प्रदान गर्ने व्यक्ति भएको भन्दै उनको नेतृत्व नभएको भए संविधान जारी नहुने अवस्थाको स्मरण गरे ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तीय क्षमता नेम्वाङसँग भएको उल्लेख गरे । अधिकारीले सुक्ष्म व्यवस्थापकीय कौशल भएका नेम्वाङका कारण नै संविधान सम्भब भएको चर्चा गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषिमन्त्री महेन्द्रध्वज जीसी, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङलगायतले नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको योगदानका विषयमा चर्चा गरेका थिए ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेका थिए ।