आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

दैनिक नेपाल २०८० असोज १ गते ११:०६

सांकेतिक तस्वीर

कास्की, १ असोज । पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन् ।

स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ । दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताए ।

उनका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ । “नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ । यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ”, वडाध्यक्ष तिमिल्सिनाले भने । पोखरा यी दुई वडा बजारको उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भूगोलमा पर्दछन् ।

नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने जनाइएको छ । यसअघि पनि १६ नंं वडा कार्यालयले वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि रु एक हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ । सो कार्यक्रम यस वर्ष पनि निरन्तर रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित