
मकवानपुर, १ असोज । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका (तीज) २०८० का सन्दर्भमा आज सोमबार शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका हुन् । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरुले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताए ।
‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भने । उनले हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको औल्याएका छन् ।












प्रतिक्रिया