
मकवानपुर, ३० भदौ । डाक्टरमाथि कुटपिटको विरोधमा हेटौंडास्थित बागमती प्रदेश सभाको भवन अगाडि प्रदर्शन गरिएको छ ।
शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले मकवानपुरको हेटौंडा-१० स्थित प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदेश सभा बैठक आज बस्दैछ । बैठक बस्नु अघि उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदेश सभा भवन अगाडि प्लेकार्डसहित उपस्थित भएका स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका छन् ।
उनीहरुले डाक्टर कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले प्रदेश सभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैगरी, हिजो शुक्रबारबाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारी अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।
उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको छ ।











प्रतिक्रिया