
काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा ओढाए ।
संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पूर्वसभामुख र प्रतिनिधि सभाका वर्तमान सदस्य समेत रहेका नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो ।
उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा उनको छोराहरू मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिए । त्यसक्रममा स्व. नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
स्व.नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू पशुपति आर्यघाट पुगेका थिए ।
यस्तै, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, नेपाल सरकारका मुख्य सचिव, संसद सचिवालयका महासचिवसहित उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका अधिकारीहरू, सामाजिक क्षेत्रका प्रतिष्ठित महानुभावहरू, स्व. नेम्वाङको परिवारका सदस्य तथा आफन्तजन, ठूलो सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ताहरू र सर्वसाधारणको ठूलो उपस्थिति पशुपति आर्यघाटमा थियो ।
स्व.नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
गत सोमबार राति करिब १:४० बजे निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो । पार्टी कार्यालयदेखि पशुपति आर्यघाटमा अन्त्येष्टिसम्म स्व. नेम्वाङप्रति हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
२००९ फागुन २८ गते ईलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रिय सभाको सदस्य बनेका थिए भने २०५६ मा इलामबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
उनी २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बनेका थिए । त्यसपछि २०६४ र २०७० सालमा भएका दुईवटा संविधान सभा निर्वाचनमा ईलाम क्षेत्र नं. २ बाट विजयी बनेर संविधान सभा अध्यक्ष बनेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उपाध्यक्ष नेम्वाङ २०७४ र २०७९ का प्रतिनिधिसभा सदस्यमा पनि ईलाम–२ बाट निर्वाचित भएका थिए ।
राजनीतिक जीवनमा नेम्वाङले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसदको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गरे ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाममा अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भएका थिए ।
२०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर पार्टीको केन्द्रीय कमिटीमा रहनुभएका नेम्वाङ २०७१ सालमा भएको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बने भने २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।
उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
हेरौँ अन्त्येष्टिका केही तस्वीरहरू–















प्रतिक्रिया