
काठमाडौं, २८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष, संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा आज सरकारले शोक विदा दिएको छ ।
नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । सोही दिन बसेको सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले दिवंगत नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक विदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैँछ । बालुवाटारस्थित उनको निवासबाट उनको पार्थिव शरीर राजकीय सम्मानका साथ शव यात्रा गरी बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।











प्रतिक्रिया