२९ आश्विन २०८३, बिहिबार

मुस्कान खातुनले केपी ओलीलाई दिइन् धन्यवाद, ओलीले कसलाई के भने ? (तस्वीरहरूसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेजाब आक्रमणकी पीडित मुस्कान खातुनले धन्यवाद दिएकी छिन् ।

तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा खातुनले तेजाब पीडितको पीडा सुनेर केपी ओलीले १५ दिनभित्रै कडा कानुन ल्याएको भन्दै धन्यवाद दिएकी हुन् ।

१५ दिनमै कानुन ल्याउनु अत्यन्दै ठूलो काम भएको चर्चा गर्दै खातुनले अध्यक्ष ओलीको कदमप्रति गर्वानुभूति भएको बताएकी छिन् । कानुन बने पनि पीडितहरु औषधि लिन अस्पताल जाँदा धेरै झन्झट् भोग्नुपरेको सुनाउँदै पीडित खातुनले यसका लागि सहजीकरण गरिदिन पनि अध्यक्ष ओलीसमक्ष आग्रह गरिन् ।

सरकारले दण्डहीनता बढायो !

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नगरेर सरकारले दण्डहीनतालाई प्रश्रय दिएको बताएका छन् ।

असंवैधानिक, अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्ने सुरक्षाकर्मी र उनको परिवारलाई समेत मार्ने धम्की दिनु ‘आतंकवाद’ भएको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको तर्क गरेका छन् । यादवमाथि खुकुरी हान्ने व्यक्ति केही दिनअघि नै माइतीघर मण्डलाबाटै व्यक्तिहरुको नामै किटेर काट्छु र मार्छु भनेको तर सरकारले वास्ता नगर्दा यादवमाथि खुकुरी प्रहार भएको ओलीको दाबी छ ।

सरकार तस्करी र कमिसनमा चुर्लुम्म

यस्तै, अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्र र जनताको हितमा नभई तस्करको संरक्षण गर्दै कमिसनको चक्करमा लागेको बताएका छन् । सरकारकै मान्छेहरू तस्करमा संलग्न भएको तथ्यहरू बाहिर आउँदा पनि सरकारले उनीहरूमाथि अनुसन्धान समेत गर्न नसकेको बताउँदै उनले विभिन्न प्रकरणहरूको फाइल खोलेर सरकार स्टन्टमा रमाइरहेको चर्चा गरे ।

स्टन्टबाजी छोडेर जनता र सुशासनको पक्षमा काम गर्न उनले सरकारलाई सुझाव समेत दिएका छन् ।

नेपाली नेपालीबीच जात, भाषा, धर्म, सम्प्रदाय र आस्थाको नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजेको तथा कुटनीतिज्ञहरू कुटनीतिक मर्यादा नाघेर विभिन्न भेटघाटमा लागेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

तस्वीरहरू