
काठमाडौं, २५ भदौ । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।
सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् ।
आज पनि माग सम्बोधन नभए भोलि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।
हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् ।











प्रतिक्रिया