
काठमाडौं, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरूलाई दु:ख दिने काम गरिरहेको बताएका छन् ।
आज आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले राज्य पुँजीलाई राज्यले संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरूलाई दु:ख दिने काम गरेको बताएका हुन् ।
व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे ।

उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरूमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताए । राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धराशयी हुँदा व्यसायीहरू पनि अप्ठेरोमा परेको भन्दै अध्यक्ष ओलीले अप्ठेरोमा परेका बैंकहरूले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर अध्यक्ष ओलीको छ । दुई/चार क्वीन्टल सुन ल्याउन जस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको दाबी ओलीले गरे ।

अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदूपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केही सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।
भिडिओ–















प्रतिक्रिया