२८ आश्विन २०८३, बुधबार

यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन…

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । वरिष्ठ मनोचिकित्सक डा. अरविन्द भुसालले नागरिक वर्तमान समय केन्द्रित भएमा तनाव व्यवस्थापन गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला विभागद्वारा शुक्रबार आयोजित ‘तनाव व्यवस्थापन परामर्श तथा तीज’ कार्यक्रममा उनले पछिल्लो समयमा नागरिक भविष्यको चिन्ताले थप जीवनलाई चिन्तातर्फ उन्मुख गराउने बताए । उनले सबै नागरिक वर्तमान समय केन्द्रित भएमा केही तनाव व्यवस्थापन गर्न सकिने विश्वास दिलाए ।

व्यक्तिअनुसार तनाव व्यवस्थापन गर्ने तरिका फरक भए पनि समयमा सुत्ने, स्वस्थ खानेकुरा खाने, योगध्यान गर्ने, आफ्नो क्षमताअनुसार आकांक्षा राख्ने, पारिवारिक शान्त वातावरण सिर्जना गर्ने, जिम्मेवारीमा समानता कायम गर्ने, औचित्यअनुसार केही विषय अस्वीकार गर्ने लगायतका अभ्यासबाट तनाव व्यवस्थापन गर्न सकिने डा. भुसालले बताए ।

आफ्ना लक्ष्यलाई प्रभावकारी रुपमा साकार पार्न सकारात्मक तनाव सबै नागिरकका लागि फाइदाजनक भए पनि पछिल्लो समयमा मानिसको कार्य व्यस्तता, पारिवारिक खटपट लगायतका नकारात्मक तनावको हाबी हुनाले व्यक्ति तनाव व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले सामूहिक कार्यक्रमले पेशाकर्मीबीच आपसी सहकार्य तथा सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत पुर्‍याउने बताउँदै मुलुकका सामाजिक सांस्कृतिक जगेर्ना गर्न मौलिक संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कर्मचारी स्वास्थ तथा तनाबमुक्त हुन सकेमा मात्र पेशा स्वस्थ हुनाले तनाव व्यवस्थापनलाई ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कामको शिलशिलामा आइपर्ने तनावलाई व्यवस्थापन गर्न कार्यक्रमले केही टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला विभागका संयोजक तारा अधिकारीले विशेष गरी पत्रकारिता क्षेत्रमा आबद्ध अधिकांश महिला चिन्ताजनक रहेकाले महिला लक्षित गरी शुक्रबार कार्यक्रम राखिएको बताइन् । पछिका दिनमा विभागले तनाव व्यवस्थापन परामर्शसम्बन्धी एक दिने गोष्ठी सञ्चालन गर्ने उनले जानकारी दिइन् । रासस