
बेइजिङ, २२ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाका लागि दक्षिण एशियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् ।
विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गरे ।
महासचिव पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरू तोकेर देशलाई औद्योगीकीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे ।

महासचिव पोखरेलले चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रूपमा अघि बढेको देख्दा खुसी लागेको बताए । ‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुसी लागेको छ,’ महासचिव पोखरेलले भने ।
उनले नेकपा एमालेले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । उनले भने, ‘दुबै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भविष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ ।’
महासचिव पोखरेलले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको जानकारी दिए । उनले आगामी २०८४ सालमा नेकपा एमालेलाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको बताए ।
कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङसिउपिनले नेकपा एमालेसँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए ।

उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताए । उनले भने, ‘महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरूले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।’ नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रूपमा एमालेलाई पाएको समेत बताए । उनले दुई पार्टीबीचको अनुभव र विचार नियमित रूपमा आदनप्रदानमा जोड दिएका छन् ।
महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल बिहीबार साँझ छोङछिङबाट बेइजिङ आइपुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरूसँग भेट गरेका थिए । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायत उच्च नेताहरूलाई भेट्ने कार्यक्रम छ ।















प्रतिक्रिया