
बुटवल, २१ भदौ । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र गुटको राजनीतिलाई क्षमा नहुने बताएकी छिन् ।
लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई क्षमा गर्न नसकिने बताएकी हुन् ।
अधिवेशनको क्रममा दुई समूह बनाएर लागेका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कंडेल र हरि रिजालको समूहलाई स्थायी गुट नराखी मिलेर अघि बढ्न निर्देशन समेत दिइन् ।
पार्टीको लुम्बिनी प्रदेश कार्यालय बुटवलमा हिजो बुधबार आयोजित सपथग्रहण तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले अधिवेशनका समयमा बनाएको टीम सदाको स्थायी गुट नभएको र स्थायी गुट भए त्यो क्षम्य नहुने बताइन् ।
अधिवेशनको समयमा पार्टी नेतृत्वलाई जोडेर जुन समूह निर्माण गरिएको भए पनि ती सबै कुराहरू अब सकिएको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रजातान्त्रिक र सहमतीय विधि प्रयोग गरिएको स्पष्ट पारिन् ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताउँदै लुम्बिनी इञ्चार्ज अर्यालले चुनावमा निर्वाचित तथा पराजित नेता कार्यकर्तालाई निष्क्रिय नहुन, कुण्ठा नबोक्न र जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइन् । साथै, निर्वाचनको परिणामसँग जोडेर पार्टीलाई क्षति हुने गतिविधि नगर्न उनले आग्रह गरेकी छिन् ।
कार्यक्रममा पोलिटब्युरो सदस्य सूर्य थापाले अन्य प्रदेशहरूमा समेत अधिवेशनको तयारीबीच लुम्बिनीले सकारात्मक सन्देश दिन सफल भएको बताए । उनले अब नयाँ नेतृत्वले काम गरेर देखाउने अवसरका रूपमा लिनुपर्ने बताए ।
यस्तै, नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीलाई अझ सशक्त बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीका नीति, विचार, सिद्धान्त, कार्यक्रम र योजनाहरू लागू गर्नेगरी आफूले लिएको लक्ष्य, उद्देश्य पूरा गर्नेगरी पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रूपमा स्थापित गर्न लाग्ने उनको भनाइ थियो ।
अध्यक्ष पदमा प्रत्यासी हरिप्रसाद रिजालले प्रतिस्पर्धाको नतिजाले आफूलाई थप सुधार्ने मौका दिएको बताए । प्रतिस्पर्धामा उत्रिएपछि सफलता वा असफल हुनु स्वाभाविक भएको हुँदा आफूले सुधारिने मौका पाएको बताए ।
लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट राधाकृष्ण कँडेलको अध्यक्षतामा २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।















प्रतिक्रिया