
काठमाडौं, २१ भदौ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा सदनमा जानकारी गराउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आज बिहीबार बसेको बैठकमा पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा विभिन्न माध्यमबाट जानकारी पाएको भन्दै भ्रमणका बारेमा सदनमा जानकारी गराउँदै सदनको भावना र विश्वासलाई लिएर चीन जान सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणपछि सिधै चीन जाँदा त्यसको प्रभाव कम हुन सक्ने भएकाले गम्भीर भएर सोच्न पनि उनले सुझाव दिएका छन् ।
सांसद पन्तले चीन भ्रमण औपचारिक, सद्भावना वा राजकीय भ्रमण के हो भन्ने बारेमा परराष्ट्रमन्त्रीले सदनमा जानकारी गराउन जरुरी रहेको उल्लेख गरे । सन् २०१६ मा केपी ओलीको भ्रमण र त्यसबेलाको सहमति नेपालको राजनीतिक इतिहासमा र नेपालको परराष्ट्र नीति सञ्चालनमा कोशेढुङ्गा भएको दाबी गर्दै पन्तले प्रधानमन्त्रीको भ्रमण सामान्य नहोस् भन्ने कामना गरेका छन् ।
केपी ओलीको भ्रमणका बेला भएका सहमति कागजमा सीमित भएको भन्दै त्यसलाई कार्यान्वयन गराउन जिम्मेवारी वर्तमान सरकारको भएको उनले बताए ।
सांसद पन्तले प्राथमिकताका आधारमा सडक र नाका निर्माण तथा सञ्चालन गर्नका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताए । चीन भ्रमणका बेला प्रधानमन्त्रीले नेपालको नक्साका बारेमा पनि चिनिया पक्षसँग कुरा गर्ने उनको विश्वास छ ।















प्रतिक्रिया