
चीन, १९ भदौ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटर्वार्ता भएको छ ।
चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटर्वार्ता भएको भ्रमण दलमा सहभागी पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भेटका क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए । नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘चीनबिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुसी छौं ।’

केपी ओली देशभक्क्त नेताको रुपमा पाएँ : जियाजुन
नेता जियाजुनले नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भविष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदनप्रदान जारी राख्नुपर्ने बताए ।
नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताए ।

गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरूको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको विकासमा सहयोगका लागि चीन तत्पर रहेको बताए ।
आर्थिक विकासका लागि शहर र गाउँ, धनी र गरिबबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताए । उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले दक्षिण एशियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए । धान उत्पादनका लागि छोङछिङ प्रसिद्ध रहेको बताउँदै उनले नेपालको कृषिको आधुनिकीकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताए ।

कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने बताए ।
नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका : महासचिव पोखरेल
भेटका क्रममा महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानटो सम्बन्ध रहेको बताए । भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्धमा महत्वपूर्ण रहेको स्मरण गरे ।

जनताको बहुदलीय जनवादका पर्वतक जन नेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताए । महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला भएको नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेस्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यसले नेपालको स्वाधीनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताए ।
उनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरूको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनुभयो ।

महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राखेका छन् ।
भेटमा नेकपा एमाले विदेश विभाग प्रमुख राजन भटराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरू थिए ।
















प्रतिक्रिया