२९ आश्विन २०८३, बिहिबार

देशभरको फोहोर व्यवस्थापनको जिम्मेवारी अब सहरी विकास मन्त्रालयलाई दिइने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायसँग छलफल गरेका छन् । त्यस क्रममा उनले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने बताए ।

‘संघीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषदमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ ।’

प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिए । उनले फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताए ।

बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, प्रभावित जनताले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेकाले त्यसका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा पनि सहभागीले जोड दिए ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायत सहभागी थिए ।