काठमाडौं, १९ भदौ । पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले नेपाल भूगोलका हिसाबले सानो भए पनि सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक भएको बताएका छन् ।
काठमाडौं स्कूल अफ ल तथा युवा समृद्धि अभियान नेपालको संयुक्त आयोजनामा भक्तपुरमा ठिमीमा भएको गाइजात्रा पर्वका अवसरमा बोल्दै संग्रौलाले नेपालमा ६ वटा सभ्यता र १ सय ३० भन्दा बढी भाषा संसारका कुनै पनि मुलुकमा नभएको दाबी गरेका हुन् ।
परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै उनले बौद्ध धर्म मात्र नभएर किरात धर्मको उद्गम थलो पनि काठमाडौं नै रहेको उल्लेख गरे । बौद्ध धर्मका कतिपय ग्रन्थहरू नेवारी भाषामा लेखिएकाले नेवारी भाषासँग अन्य संस्कृतिको पनि सम्बन्ध रहेको बताए ।
आफू काठमाडौं महानगरको सल्लाहकार रहँदा नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गरे पनि सर्वोच्च अदालतका कारण सफल नभएको उनको भनाइ थियो । भाषा, धर्म, संस्कृतिलाई सम्मान गर्न नसक्दा देश बिग्रिएको भन्दै संग्रौलाले विद्यालयस्तरबाटै संस्कृति र मातृभाषाबारे अध्यापन गराउनुपर्नेमा जोड दिए ।
काठमाडौंको संस्कृति मासेर नेपालीको पहिचान नाश गर्न खोजिएको आरोप लगाउँदै उनले च्यासल, मन्दिर र ढुंगे धाराको संरक्षण नहुँदा नेपालीको पहिचान क्षयीकरण हुँदै गएको बताए । संस्कृतिलाई माया गर्न नसक्ने हो भने सभ्यताको संरक्षण नहुने उनको भनाइ छ ।















प्रतिक्रिया