शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

सिंहदरबार जलाउने धम्की दिने मेयरलाई किन भएन कारबाही ?

दैनिक नेपाल २०८० भदौ १८ गते ८:४४

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनीमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाही नगर्ने हो भने यसले अराजकता निम्ताउने भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । मेयर बालेनको सो अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ । केहीले भने मेयरको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । मेयरको गलत अभिव्यक्तिको समर्थन गर्नेहरूबाट अराजकता फैलने खतरासमेत बढेको देखिएको छ ।

कहिले अदालतलाई गाली गरेर त कहिले राष्ट्रप्रमुख तथा सरकार प्रमुखको निवास र कार्यालयको फाहोर नउठाएर स्टन्टबाजी गर्न नछाडेका मेयर साहले शनिबार आफ्नी पत्नी सवार सवारीसाधनलाई ट्राफिक प्रहरीले रोकेर सामान्य सोधपुछ गरेपछि आक्रोशित भएका थिए ।

मेयर साहकी श्रीमती सवार गाडी केही मिनेट रोकिएपछि आक्रोशित भएका मेयर साहले सिंहदरबारमा आगो लगाउने भन्दै श्रीमतीको बचाउ गरेका थिए । मेयर साहले सरकारलाई चोरको संज्ञा दिँदै ट्राफिक प्रहरीमाथि पनि खनिएको विज्ञप्ति जारी गरेका छन् ।

समयसमयमा विरोधभासपूर्ण अभिव्यक्ति दिने मेयर साहले बिदाका दिन श्रीमती चढेको गाडी चेकजाँच गर्दा आगो लगाउने धम्की दिनुभयो र शनिबार राती करिब सवा ९ चाकलले ट्राफिक प्रहरीले सवारी चेकजाँच गरी रोकेको विषयमा साहलाई जानकारी दिएपछि तत्काल उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धम्की दिएका थिए ।

उनले ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’ । भन्दै स्टाटस लेखेपछि विवाद भएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयरजस्तो जिम्मेवार व्यक्तिले ‘चोर सरकार, सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने अभिव्यक्ति दिँदा सरकार चुइँक्क बोल्न सकेको छैन । साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले मेयर साहको आलोचना गरिरहेका छन्, मेयर साहलाई कारबाही गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

तर, सरकारले मेयर साहसँग न कुनै स्पष्टीकरण सोध्यो न त कारबाही गर्ने आँट नै गर्न सक्यो । मेयर साहले आफूमाथिको घटनालाई समासुम पार्न र जनताप्रति सहानुभूति देखाउन श्रीमतीको सुत्केरी भएको विषयलाई प्रचारबाजी गरेका छन् ।

आइतबार बिहान मेयर साहले सिंहदरबार आगो लगाइदिन्छु भन्दै आक्रोस पोखेको विषयलाई प्राथमिकता दिएका थिए । बिहान केहीबेरपछि मेयर साह निकट रुटिन अफ नेपाल बन्दले मेयर साहलाई पुत्री लाभ भएको र छोरीलाई बधाई दिँदै पोस्ट ग¥यो । एघार दिनअघि पुत्रीलाभ भएका मेयर साहका पत्नी सबिना काफ्ले कुरुवाको रूपमा नख्खुस्थित मेडिसिटी अस्पताल पुगेकी थिइन् । मेयर साहको गाडी पत्नी काफ्लेलाई लिएर निवासतर्फ गएको थियो ।

मेयर साहको सवारी साधनको पास लिनुपर्ने दायित्व चालकको हो । तर, चालकले पास नलिएको कारण श्रीमती चढेको सवारी चेकजाँच गर्दा उत्तेजित स्टाटस लेख्नुलाई मेयर साह घमण्डी भएको भन्दै आलोचना भइरहेको छ ।

जब सवारी पासबिनाको गाडी चढेर चेक गरेपछि उत्तेजित स्टाटस पोस्ट गरेका साहले आफूविरुद्धको आलोचना रोक्न ट्राफिक प्रहरीले मेयर साहको सवारी साधन चेकजाँच गर्दा परेको पिरको विरोध जनाएका थिए ।

मेयरले जथाभावी स्टाटस लेखेर जनतालाई उत्तेजित बनाउँदा गृह मन्त्रालयले कानुनी दायरामा ल्याउन सकेको छैन । सामाजिक सञ्जालमा मेयर साहको पोस्टमाथि आलोचना गर्दै कतिपयले दम्भी भनेर आलोचना गरिरहेका छन् ।

साइबर कानुनका विज्ञ एवं पूर्वन्यायाधीश डा। श्रीकृष्ण भट्टराईले सामाजिक सञ्जालमा जनतालाई उत्तेजित हुने किसिमको स्टाटस लेख्नु गलत भएको बताए। उनले भने– ‘मेयरको आपराधिक मनस्थिति भए पनि आपराधिक कार्य भएको देखिँदैन । ’

‘आपराधिक कार्य भएको भए सबै स्थानीयवासी सिंहदरबार जलाउन जाऔं भन्ने स्टाटस लेख्थे होला, तैपनि मेयरजस्तो महत्वपूर्ण व्यक्तित्वले यस प्रकारको स्टाटस पोस्ट गर्नु गलत हो’ –उनले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा के गर्न सकिन्छ भन्ने बारेमा गृह मन्त्रालयले छलफल गरिरहेको बताए । सबैको अभिभावक, महनगरको पिताले यस किसिमको भनाइ पोस्ट गर्नु गम्भीर विषय भएको र यसले उनको छविमाथि नै प्रश्न खडा गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले यो विषयमा मेयरसाव आफैंले समीक्षा गर्नुपर्ने बताए ।

प्रजिअ बस्नेतले भने– ‘हामीलाई मेयर साबले यतिसम्मको स्टाटस लेख्नुहोला जस्तो लागेको थिएन, मर्यादाक्रममा सहायकमन्त्री पछि र मुख्य सचिवमभन्दा माथिको स्टाटस रहेको मेयरले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम गर्न मुख्य भूमिका खेल्नुपर्नेमा यस्तो सुरक्षा निकायलाई हतोत्साही हुने किसिमका अभिव्यक्ति दिनु गलत छ ।’

मेयर साहले दिएको अभिव्यक्तिको विषयमा आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । मेयर साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती भएको स्वीकार गरेको छैन । तर, सरकारले उनको गलत व्यवहारको बारेमा छलफल गरिरहेको छ । यस विषयमा आइतबार प्रधनमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । स्रोतले जानकारी दिएअनुसार मेयर साहले माफी माग्नुपर्ने वा नमागे थप के कदम चाल्ने ? लगायतका विषयमा छलफल भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित