
रुपन्देही, १६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।
आज बुटवलको अन्तर्राष्ट्रि सम्मेलन केन्द्रमा आयोजित एमाले लुम्बिन प्रदेशको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीमा ओलीको विकल्प नरहेको र कसैले पनि कुण्ठित विचार नराख्न आग्रह गरे । अध्यक्ष ओलीकै नेतृत्वमा पार्टीले मिसन २०८४ बनाएको बताए ।
‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ,’ पौडेलले भने ।
एमालेभित्र कुनै विवाद नरहेको स्पष्ट पार्दै उपाध्यक्ष पौडेलले नेतृत्वको विषयमा विवाद ल्याउने कोशिसलाई पानीको फोका जस्तै बनाएर जाने बताए । पार्टी र गुट विपरीत रहेका बताउँदै उपाध्यक्ष पौडेलले गुट बन्न नदिने गरी अगाडि बढिरहेको बताए । गुट–उपगुटका रंगिन समाचारबाट सबै प्रसचेत हुनुपर्ने उनको धारणा छ ।
उनले भने,’एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ । अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ । पार्टी र गुट विपरीत हुन, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट–उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ,’ ।
उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने बताए । उनले अहिलेको सरकार विदेशीको इशारामा चलेको भन्दै वर्तमान सरकारबाट देशवासीले कुनै अपेक्षा गर्न नसक्ने स्पष्ट पारे ।
एमाले बलियो बन्छ भनेर सरकारमा बसेकाहरूले मोर्चाबन्दी गरेको उनको भनाइ छ ।















प्रतिक्रिया