२९ आश्विन २०८३, बिहिबार

नेकपा एस उदयपुरमा गयो पहिरो, त्रियुगाको नगर कमिटीनै एमालेमा बिलय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १५ भदौ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी उदयपुरमा पहिरो गएको छ ।

एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षसहित त्रियुगा नगर कमिटी एमालेमा बिलय भएपछि पार्टीमा ठूलो पहिरो गएको हो ।

केही दिनअघि बद्री गेलाल एमालेमा फर्किएलगत्तै शुक्रबार नगर कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जनार्दन रेग्मी नेतृत्वको टीम पुरानो घर एमालेमा फर्किएको हो ।

त्यसैगरी, नगर कमिटीका सचिवालय सदस्यहरू धुर्वराज कार्की, निर्मल रेग्मी, राजकुमार थापा, उदय कार्की, प्रशान्त बस्नेत, सुनिल पौडेल, मिना राया, अनेरास्ववियूका जिल्ला सदस्य सुनिता विकलगायत नेताहरू एमालेमा समाहित भएका हुन् ।

उनीहरूलाई एमालेका केन्द्रीय सदस्य तथा पालिका इञ्चार्ज अम्बिका थापा, प्रदेश कमिटी सदस्यद्धय बैकुण्ठनाथ दहाल र भागवत राउतले प्रवेश गराएका हुन् । यसरी धमाधम नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेपछि एमालेबाट चोइटिएर गएको माधव नेपाल समूहलाई नेता र कार्यकर्ताको सङ्कट पैदा भएको छ ।

भूगोल तथा जनसंख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको नगरपालिकाका अध्यक्ष नै एमालेमा फर्किएपछि समाजवादीमा नेताको खडेरी लाग्न सुरू भएको हो ।

एक विज्ञप्ति जारी गर्दै उनीहरूले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकी दक्षिणपन्थीको सेवाका लागि विर्सजनवादतिर लागेकाले आफूहरू पुन: मुलधारकै पार्टी एमालेमा फर्किएको उल्लेख गरेका छन् ।

पार्टीको सिद्धान्त र कार्यनीतिको बीचमा तारतम्य नमिली कार्यकर्ता र जनमानसमा दिग्भ्रमित बनाउने र दक्षिणपन्थी र अवसरवादी पार्टीको वैशाखी टेकेर निर्वाचनमा गठबन्धन गरी सिद्धान्तलाई तिलाञ्जली दिएको हुँदा नेकपा एसमा बस्नु औचित्य नरहेको उनीहरूले बताएका छन् ।