२९ आश्विन २०८३, बिहिबार

ऋषि धमलाको रिपोर्टर्स क्लबमा ‘गाईजात्रा’ !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ ।

आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा हास्य कलाकारहरू शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर रिजाल), हिमेश पन्त, दिनेश काफ्लेलगायतको उपस्थितिमा गाइजात्रे साक्षात्कार गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सभापति ऋषि धमलाले देशमा प्रत्येक दिन गाईजात्रा भइरहे पनि संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए । हास्य व्यङ्ग्य क्षेत्रमा अहिलेको नयाँ पुस्ता एकदमै सफल रहेको धमलाको भनाइ छ ।

कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले नेपालमा डबलीबाट सुरू भएको गाईजात्रा २०३३ सालमा सत्यमोहन जोशीले रंगमञ्चमा ल्याएको स्मरण गराए । नेपाली गाईजात्राको इतिहासलाई स्मरण गर्दै उनले भने, ‘नेपालमा गाईजात्रा भन्ने पर्वलाई डबलीबाट रंगमञ्चमा २०३३ सालमा सत्यमोहन जोशीले लगेको हो । म २०३७ सालबाट सहभागी भएँ ।’

२०३७ सालदेखि गाईजात्रामा सहभागी हुँदै आएपनि तीनवटा संकटकाल व्यहोरेको बताए । उनले २०४६ साल, २०६२/०६३ साल र कोरोना कालमा गाईजात्राले अहिलेसम्म तीनवटा संकटकाल व्यहोर्न परेको बताए ।

‘मैले तीनवटा गाईजात्राको संकटकाल व्यहोरेको छु, २०४६ सालमा प्रजातन्त्र आयो । उच्च तहमा पुगेको रंगमञ्चको कार्यक्रम ध्वस्त भयो । फेरि ०४७ सालबाट सुरू गरियो । ०४७ बाट सुरू गर्दै गएपछि फेरि २०६२/०६३ मा आन्दोलन भयो ।’ उनले भने, ‘फेरि त्यो जमिनमा पुग्यो । त्यसपछि फेरि सुरू गरेका थियौं । कोरोनाले खाईदियो । हामी डिजिटलमा गयौं । डिजिटलमा गएपछि गाईजात्रा गर्ने मञ्च नपाउँदा मैले शैलेन्द्र सिम्खडा युट्युव च्यानल भनेर त्यहाँबाट सुरू गरेँ ।’

यसपटकदेखि प्रज्ञा भवनमा आज (बिहीबार) दुई शो, शनिबार एक शो र आईतबार दुई शो गरेर पाँच शो गाईजात्रा रंगमञ्चमा जुर्मुराउने उनको भनाइ छ । हास्य कलाकार सिम्खडाले सुन तस्करी प्रकरण र देशका विभिन्न भ्रष्टाचार र अनियमिततको बारेमा व्यङ्ग्य गरेका थियो । साथै, पत्रकारहरूलाई व्यङ्ग्य गर्दै उनले विदेशमा पैसा लगेर राख्ने भ्रष्टाचारीलाई खोज्न र सत्य, तथ्य, यथार्थ लेख्न १२ भाईलाई आग्रह गरे ।

अहिले सिनेमा क्षेत्रमा ‘उमेर नपुगेकासँग जोगिन गाह्रो र उमेर पुगेकालाई जोगाउन गाह्रो’ रहेको भन्दै व्यङ्ग्य गरे । ‘१७ वर्षकी नायिकालाई छुस्स छोयो भने ‘मन परे मित्र, नत्र खोरभित्र’ को अवस्था रहेको उनको भनाइ छ । उनले सबै मिलेर कानुन बदल्नका लागि कम्मर कस्न आवश्यक रहेको बताए । पल शाह र सन्दील लामिछानेलाईजस्तो कानुन लगाएको खण्डमा भुवन केसीले डेढ सय वर्ष जेल बस्नुपर्ने उनको व्यङ्ग्य थियो ।

जोगिन्दर पानवाला (शिवशंकर रिजाल) ले नेपाली राजनीतिमा र चलचित्रमा रहेका विकृतिका बारेमा व्यङ्ग्य गरेका थिए । सदनभित्र छिरेपछि राम्रा मान्छे पनि विग्रिएको प्रति उनको व्यङ्ग्यको सन्देश थियो ।

ललिता निवास प्रकरणमा मन्त्रीलाई मुद्दा परेको मुद्दा मन्त्रीबाट पियनसम्म सरेको उनको व्याङ्य थियो । सरकारले मन्त्रीलाई परेको भ्रष्टाचार मुद्दामा पियनलाई छानविन भइरहेको व्यङ्ग्य गरे । ठूलाबडाले गरेको भ्रष्टाचार छानविनको दायरामा ल्याउन नसकिएको त्यसकालाई सरकार अहिले सक्षम भइनसकेको उनले बताए । ‘पहिला ठूला माछा समात्नुस्, ह्वेल माछा समात्नुस् । अनि झिँगे माछा समात्नु होला,’ उनले भने ।

यस वर्ष पनि आफूले जोगिन्दर पानवालाको गाईजात्रा प्रस्तुति लुछाचुँडी बजारमा ल्याएको बताउँदै उनले नहेरेकाहरूलाई हेर्नका लागि आग्रह गरे । उनले उक्त गाईजात्रा प्रस्तुति ‘लुछाचुँडी’ मा रहेको व्यङ्ग्य चुनाव पुराण प्रस्तुत गरेका थिए । आफूले किसानलाई प्रश्न सोधेको सन्दर्भ उल्लेख गर्दा उनले किसानले समेत ऋषि धमलाको प्रसंशा गरेको प्रसङ्ग सुनाए ।

अर्का हास्य कलाकार श्रीकृष्ण सिम्खडाले देशको राजनीतिक विकृति र संसंगतिका बारेमा व्यङ्ग्य गरे । टीकापुर घट्नातर्फ लक्षित गर्दै उनले मान्छेलाई मारेर शालिक बनाउने परम्परा बढेको बताए । उनले साक्षत्कार कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरे ।

उनले रिपोर्टर्स नेपालका सभापति ऋषि धमलाले गाईजात्रा पर्वलाई अगाडि बढाइरहेको भन्दै प्रसंशा गरे । यसको निरन्तरताको लागि पनि उनले आग्रह गरे । ऋषि धमलाले कलाकारलाई मात्रै माया नगरेर जनताको सबै दु:खमा सहयोग गरेको र निरन्तर आवाज उठाएको भन्दै उनले प्रसंशा गरे ।

अर्का हास्य कलाकार एवम् कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले अहिले डाक्टर सन्दुक रुईतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा उनले टोपबहादुर रायमाझीको जीवन समावेश गर्न भन्दै सरकारलाई व्यङ्ग्य गरे । अहिले सरकार निस्कृय रहेकोतर्फ लक्षित गर्दै उनले नेताले घर बनाउँन नसक्दा धेरै मान्छे शरणार्थी बन्न परेको बताए ।

अर्का कलाकार दिनेश काफ्लेले आफूले क्यारिकेचर गर्न नजान्दै रिपोर्टर्स क्लबको नाम सुनेको बताए । गाईजात्राको कमाण्ड गर्दै आइरहेको रिपोर्टर्स नेपालमा आज थोरैमात्रामा कलाकार उपस्थित भएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

उनले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेसका देउवा, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा (एस) का सम्मानीत नेता झलनाथ खनाल लगायत अन्य कलाकारको क्यारिकेचर गरेका थिए ।