काठमाडौं, १३ भदौ । गृह मन्त्रालयले ६१ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका विदेशी नागरिक निमा तामाङ भनिने दावा छिरिङको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया हालसम्म पनि शुरु गर्न सकेको छैन् ।
चिनियाँ मूलका बेल्जियम नागरिक दावाले राजनीतिक तथा प्रशासनिक सेटिङ मिलाएर नेपाली नागरिकता लिएको पुष्टि भइसक्दा समेत गृह मन्त्रायले सो नागरिकता रद्ध गर्ने प्रक्रिया अगाडि नबढाउनुले आशंका सिर्जना गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले दावाको नागरिकता छानबिन गर्न समिति बनाए पनि सो समितिले काममा ढिलाइ गर्दा समितिलाई थप जवाफदेही बनाउन विशेष पहल गर्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
सुन तस्करीको मुख्य योजनाकारमध्ये एक मानिएका उनी हाल प्रहरी हिरासतमा छन् । उनी गत १५ साउनमा पक्राउ परेका थिए ।
दावाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको पुष्टि भइसकेको छ । उनले आफूजस्तै अन्य ५ विदेशीलाई समेत नेपाली नागरिकता दिलाएका थिए । तर उनीहरुको नागरिकता रद्ध गर्न गृह प्रशासनले चरम ढिलाइ गरिरहेको छ । आजको नेपाल समाचार पत्रमा खबर छ ।