
काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटस्थित बञ्चरेडाँडा लैजान फेरि प्रतिबन्ध लगाउने तयारी भएको छ ।
बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोरमैलाका कारण त्यहाँका बासिन्दाहरूमा नकरात्मक असर परेको र सरोकारवाला निकायहरूले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेको भन्दै फोहोरमैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएको हो ।
प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ । प्रदुषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिलसाइट अहिलेको निकाश भएको सरोकार समितिको भनाइ छ ।
सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको अरोप छ ।
२०६२ सालदेखि आजसम्म काठमाडौं महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिलसाइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हरहालतमा नदिने तयारी उनीहरूले गरेका छन् । अटेर गरी प्रवेश गरे वा गराएमा घट्न सक्ने सम्भावित घटनाको जिम्मेवारी नेपाल सरकार, काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाले लिनुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया