
काठमाडौं, १० भदौ । राष्ट्रियसभा सदस्यहरूले विभिन्न जातजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव कायम राख्दै देश विकासमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा सासंसदहरूले सामाजिक सद्भावलाई कायम राख्न आह्वान समेत गरेका छन् । बैठकमा सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा सामाजिक सदभावलाई खलल पुर्याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले पहलकदमी लिनुपर्ने बताए ।
आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्नुपर्ने उनले बताए ।
त्यस्तै सांसद भगवती न्यौपानेले धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत बन्नुपर्ने बताइन् । उनले जातीय सद्भावमा खलल पुग्ने गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने धारणा राखिन् । न्यौपानेले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहोर्याएको आरोप लगाइन् ।
त्यस्तै सांसद भुवनबहादुर सुनारले देश विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने बेला आपसमा लडाईं नगर्न आग्रह गरे । सांसद मोहम्मद खालिदले कोशी प्रदेशमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउदै आगामी पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको बताए ।
राष्ट्रियसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ ।















प्रतिक्रिया