
काठमाडौं, १० भदौ । धरान उपमहानगरपालिकामा सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा पहिल्लो दिनहरुमा यहाँ आन्दोलन चर्किएको छ । यसैलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म धरानमा २४ घण्टे निषेधाज्ञा जारी गर्यो ।
निषेधाज्ञाको समयमा भेला, जुलुस, र्याली निकाल्न रोक लगाएको थियो । निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन् । यसले गर्दा हिजो धरान शान्त पनि बन्यो ।
तर हिजो शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु आन्दोलित भए ।
अहिले धरान शान्त बन्दै गर्दा धरानका मेयर हर्कराज राई (साम्पाङ)को मन भने आइतबार बिहानैबाट अशान्त देखिएको छ ।
मेयर साम्पाङको मन अशान्त रहेको उनको सामाजिक सञ्जाल फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ । उनले हिजोको र्यालीमा आफू विरुद्ध नारा जुलुस लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
साम्पाङले आफू विरुद्ध लागेको नारा जुलुसको भिडियो क्लिप फेसबुकमा शेयर गर्दै भनेका छन्, ‘कुरा बुझ्दा यो मान्छेले उचालेर ल्याएको जस्तो पो देखियो ! र्यालीमा मेरो विरोध हुनु र यो मान्छेले यस्तो भन्दै गरेको देख्दा त शंका लाग्छ है ! दाजु भाइ हो… सत्य, न्याय र समानताका लागि लडौँ है कुनै यस्ताहरुका लागि होइन !’
मेयर साम्पाङले बिहानैदेखि अहिलेसम्म ६ वटा फेसबुक स्टाटस लेखेका छन् । जसमा उनले हिजोको र्यालीको नेतृत्व रास्वपाका नेताहरुले गरेको दाबी गर्दै रास्वपाका सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
‘हिजोको र्यालीको नेतृत्व रास्वपाका नेताहरुले गरेका थिए रे भन्ने पनि एउटा मिडियाले भन्दै थियो ! के रैछ कुरा ? फेरि र्यालीको नारा “हर्क साम्पाङ मुर्दावाद” भन्ने सुन्दैथिएँ ! के रैछ कुरा रवि सर ?’ साम्पाङले फेसबुकमा लेखेका छन् ।
मेयर साम्पाङले फोहोरी राजनीति गर्नेहरु आफ्नो पछि लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।











प्रतिक्रिया