
वालिङ (स्याङ्जा), ९ भदौ । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो ।
२०१० सालमा केमुनेमा जन्मिएका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए ।
मजदुरी गरेर मात्रै शहर बजारमा पारिवारको जिविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न सुरू गरे ।
४२ वर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न सुरू गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको ऊर्जाशील ४२ वर्ष खर्चेका नेपाली गत हप्ता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्कोका पेमे अर्को दिन अब वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए ।
जेनतेन परिवार चलाउँदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका वडा नं. ८ स्थित मालेबगर खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् ।
पाँच छोरा र दुई छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, बढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमानको किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायी रुपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रो समेत एक सहकारी संस्थाले भवन बनाउँदा भत्कायो । छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै ।’ किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनु परेको उनको मर्मस्पर्शी भनाइ छ ।

१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाई छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टीमबाट बङ्लादेशमा समेत सहभागी भइसकेकी थिइन् । आमा पविसँगै छोरी शान्ता पनि सार्वजनिक शौचालयमा बुवाको किरिया बसेकी छिन् ।
घरको पिल्लररुपी श्रीमानको नै निधन भयो, अब झन् बेसहारा भएकी पविलाई श्रीमान् गुमाउनुको पीडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले थप पिरोलेको छ । कमाई गर्न सक्ने छोराछोरी ज्यालामजदुरी गरेर आ–आफ्नो परिवार पाल्न बाध्य छन् । तर बोल्न नसक्नेसहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ ।
हिन्दू परम्परा अनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाहरूले सहयोग पनि गरेका छन् ।
बोलबम समिति वालिङले थोरै भए पनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए ।















प्रतिक्रिया