
काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसले कसैको धर्म, संस्कृति र परम्परामाथि कसैले पनि दख्खल पुर्याउन नहुने बताएको छ ।
धरान घटनाबारे पार्टीको तर्फतबाट धारणासहितको अपील जारी गर्दै कांग्रेसले धरानमा भएको द्वन्द्वले नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्नेप्रति गम्भीर चिन्ता समेत प्रकट गरेको छ ।
‘केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल
गर्दछ,’ कांग्रेसले भनेको छ ।
परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएको स्मरण गर्दै अपीलमा भनिएको छ, ‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।’
पार्टी सभापति शेरबहादुर देउवाले गरेको सो अपीलमा नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नभएको र हुन नसक्ने स्पष्ट गरिएको छ । ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ कांग्रेसको अपीलमा उल्लेख छ ।
यस विषयको संवेदनशीलतालाई दृष्टि गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेसले हार्दिक अपील समेत गरेको छ ।















प्रतिक्रिया