२९ आश्विन २०८३, बिहिबार

जातीय र धार्मिक द्वन्द्व फैलाएर नेपालको सार्वभौमसत्ता कमजोर पार्न खोजियो : जनमोर्चा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । राष्ट्रिय जनमोर्चाले साम्राज्यवादी शक्तिहरूले नेपालमा जातीय र धार्मिक द्वन्द्व फैलाएर मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कमजोर पार्न खोजेको बताएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै साम्राज्यवादीहरूको षडयन्त्रविरुद्ध सतर्क रहनुपर्ने समेत बताएका छन् ।

‘कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिकाबीच द्वन्द्व र अन्तरविरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन् । त्यसप्रति हामी सबैले गम्भीरतापूर्वक ध्यान दिएर नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनपर्नेमा जोड दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक भएको उल्लेख गर्दै जनमोर्चाले बहुधर्म, बहुभाषा र बहुसंस्कृतिबीचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने पनि स्पष्ट गरेको छ ।

यस्तै, धरानलगायत केही जिल्लाहरूमा भइरहेको धार्मिक र जातीय विद्वेषप्रचि चिन्ता व्यक्त गर्दै जनमोर्चाले भनेको छ, ‘पूर्वका केही जिल्लाहरूमा बिग्रदो सामाजिक सद्भावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम त हामीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपील गर्दछौँ ।’

सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन तथा आपसी सम्झाईबुझाई सम्वादको माध्यमद्वारा समस्यालाई समाधान गर्न सो पार्टीले सरकारसँग अनुरोध समेत गरेको छ ।