३० आश्विन २०८३, शुक्रबार

यती र ओम्नीलगायत प्रकरणको फाइल नखोलेर एमालेको बदनाम गरियो : शंकर पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यती र ओम्नीलगायत प्रकरणहरूको फाइल नखोलेर सरकारले एमालेको बदनाम मात्र गरिरहेको बताएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय कमिटी र पार्टीका निकायहरूमा प्रतिनिधित्व गर्ने नेताहरूको पोखरामा सम्पन्न दुई दिने बैठकलाई सम्बोधन गर्दै आज उनले एमालेलाई बदनाम गराउनकै लागि सरकारले विभिन्न प्रकरणमा एमालेको नाम जोड्ने र तिनको फाइल नखोल्ने गरेको बताएका हुन् ।

‘हामीले स्पष्टरूपमा भनेका छौँ, यति, ओम्नी, वाइबडी, गोकर्ण, प्रिन्टिङ प्रेस, गिरीबन्धु जे–जे छन् ती सबैको फाइल खोलेर अनुसन्धान गरियोस् । तर, सरकार यी प्रकरणहरूमा एमालेको नाम जोडेर बदनाम मात्रै गराउने प्रयासमा छ,’ महासचिव पोखरेलले भने, ‘जति पनि नाम लिएर एमालेको बदनाम गर्न खोजिएको छ ती सबैका फाइल खोलेर अनुसन्धान गर्न पार्टीले चुनौती दिएको छ, फाइल खोल्दैनन् केबल बदनाम मात्र गर्न खोज्छन् ।’ एमालेले कहिल्यै पनि भ्रष्टाचार नगरेको उनको भनाइ छ ।

यस्तै, उनले एमालेविरुद्व गरिएका कुप्रचारको प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । एमाले कुनै पनि कालखण्डमा कुनै खाले भ्रष्टाचारका काण्डमा संलग्न नभएको उल्लेख गर्दै भ्रष्टहरूले नै एमाले पनि आफूजस्तै हो भन्ने भ्रम छर्ने प्रयास गरेको महासचिव पोखरेले बताए । असत्य प्रचार गरेर पार्टीविरुद्व कुप्रचार गर्दा कुनै पनि नेता तथा कार्यकर्ता चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

उनले आगामी निर्वाचनमा एमाले एक्लैलाई पूर्ण बहुमत ल्याउने अवस्थामा पुर्‍याउनेगरी काम गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । एमालेका नीति र कार्यक्रम जनताले बुझ्ने गरी बताउने हो भने ५१ प्रतिशत भन्दा बढी मत पाउने दाबी उनको छ ।