२९ आश्विन २०८३, बिहिबार

एमाले गण्डकीको भवन बनाउन पार्टी सदस्यसँग पाँच सय रुपैयाँ उठाइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय भवन निर्माण गर्न पार्टीका प्रत्येक सदस्यसँग कम्तीमा पाँच सय रुपैयाँका दरले रकम संकलन गरिने भएको छ ।

हिजो बिहीबार बसेको भवन निर्माण कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पार्टीका केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउँदै रू. २५ करोड सङ्कलन गर्ने योजना रहेको उल्लेख गरेका हुन् ।

सचिव बिष्टले प्रत्येक पार्टी सदस्यबाट पाँच सय रुप्रयाँ उठाइने र त्यो भन्दा बढी सहयोग गर्न सक्नेले मुठ्ठी फुकाएर सहयोग गर्न पनि आव्हान गरेका छन् ।

बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उप महासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताए । भवन निर्माणका लागि पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे ।

पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो । बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष, संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख, जनवर्गीय संगठनका अध्यक्ष र उद्यमी र व्यवसायी सहभागी थिए ।