
काठमाडौं, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले फाइल खोलिएका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयलाई उचालेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई आज बिहीबार सम्बोधन गर्दै ओलीले सरकारले एकै समयमा धेरै फाइल खोलेर कारबाहीको प्रक्रिया निष्प्रभावी बनाउने प्रपञ्च रचिरहेकै बेलामा अहिले उजागर भएका प्रकरणहरूलाई ढाकछोप गर्नेगरी झापाको गिरीबन्धु टी–स्टेटको जग्गाको विषयलाई उठाउन थालिएको बताएका हुन् ।
तर, आफू विधि र कानुनलाई हेरेर काम गर्ने र गल्ती कतै नगरिएकाले कसैले चाहाँदैमा नफस्ने जिकिर गरे । आफू विभिन्न पदमा रहँदा कानुनबमोजिम नै फैसला गर्ने गरेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा गरेका कामकारबाहीहरू कानुनबमोजिम नै भएको भन्दै आफूले हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको बताउँदै विरोधीहरुले सत्यका विरुद्ध काम गर्छन् भन्ने आफूहरूलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा रव्यक्त गरे ।
उनले सुन तस्करी प्रकरणको तत्काल छानविनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानविन गर्ने गरी उच्चस्तरीय छानविन आयोग गठनमा सहमति भएको जिकिर गरे । उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउँदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायव गरेको कुरालाई एमालेले उठाउदा विषयान्तर गर्न खोजेको तर्क गरे ।
त्यस्तै, उनले कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किएपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप पनि लगाएका छन् । विभिन्न बहानामा नेपाली जनतालाई जुधाएर तालि बजाउने काम एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ ।















प्रतिक्रिया