
काठमाडौं, ८ भदौ । रूसको वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ ।
बुधबार रुसको उड्डयन एजेन्सीले वाग्नरका सेना प्रमुख प्रिगोजिनसहित विमानमा सवार १० जनाको मृत्यु भएको पुष्टि गरेको छ। मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरूको मृत्यु भएको हो । विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए।
वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ। जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्वको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन्।
पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको थियो। युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो। बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो। राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो।
वाग्नर पछिल्लो समय पुटिनका लागि खतरा बनेका थिए । उनी पुटिनसँग समझदारीमा आए पनि जुनकुनै बेला फेरि खतरा बन्न सक्ने डर पुटिनमाथि थियो । जसले गर्दा पनि उनको विमान खसालिएको अधिकांशको आशंका छ ।
उसो त पुटिन आफ्ना विद्रोहीविरूद्व जुन कुनै हदसम्म जान सक्ने यसअघिका घटनाले पनि देखाएका छन् ।















प्रतिक्रिया