
काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरूले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।
एसिया कपमामा सहभागी हुन पाकिस्तान जानु अघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहे पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका हुन् ।
भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले आफूहरूले कुनै कमजोरी नदोहोर्याउने उनले बताए । टीममा सन्दीप लामिछानेको विकल्प अरू कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै, राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टीमका प्रत्येक सदस्यहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले खेलाडीले पाँच महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे ।
खेल अवधिभर खेलका लागि लड्नुपर्ने उनको भनाइ छ ।
एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ ।
नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौ १८ मा हुने तय भएको छ ।















प्रतिक्रिया