३० आश्विन २०८३, शुक्रबार

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न दिन्नँ, भरोसा र विश्वास बढाउँछु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आज मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि आजै उनले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण पनि गरेका छन् । पदभार ग्रहरण गर्दै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोसा बढाउने र न्याय मर्न नदिने गरी आफूले काम गर्ने बताएका छन् । उनले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह पनि गरेका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोवलका साथ निर्भिक भएर काम गर्न आग्रह गरे । त्यस्तै, उनले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए । आफू कामु प्रधानन्यायाधीश हुँदा सुरू गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनुहुनेछ ।