
चितवन, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेसीय ट्रान्समिसन लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको बताएका छन् ।
आज मंगलबार चितवनमा भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको भन्दै यसका लागि अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गरि विद्युत् व्यापारलाई प्राथमिकता दिएको बताएका हुन् ।
हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको र बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको जिकिर गरे ।

उनले आफ्नो आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारसम्बन्धी कुराकानी हुने बताए । प्रधानमन्त्री प्रचण्डले विद्युत् विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिइनुपर्नेमा पनि जोड दिएका छन् ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो ।















प्रतिक्रिया