
काठमाडौं, ४ भदौ । संविधानविद् डा.भीमार्जुन आचार्यले कोशी प्रदेशको प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले बहुमत पुर्याउन मत हालेर राजनीति र संवैधानिक तमासा देखाएको टिप्पणी गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापालाई बैठकको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका सांसद ईस्रान मन्सुरीले समेत विश्वासको पक्षमा वा विपक्षमा मतदान गर्नु गलत भएको बताएका हुन् ।
कोशी प्रदेशको आजको कार्य गलत भएको भन्दै उनले साउन ११ गते सर्वोच्च अदालतको गरेको फैसलाको समेत खिल्ली उडाएको बताए ।
गत साउन ११ सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको थियो ।
संविधानको धारा १८६ मा प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरुको बुहमतबाट हुनेछ, अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुँदैन । तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने पाउने उल्लेख छ ।















प्रतिक्रिया