३० आश्विन २०८३, शुक्रबार

तस्वीरमा हेर्नुहोस् रजस्वलासम्बन्धी नाटक ‘हराएकी म’

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । काठमाडौंको सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा हिजोदेखि नाटक ‘हराएकी म’ मञ्चन सुरू भएको छ ।

हिजो शुक्रबार दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरू प्रथम पटक रजस्वला हुँदा गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ ।

दर्शकहरूलाई महिनावारी हुँदा गलत संस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरूलाई रङ्गमञ्चसम्बन्धी ज्ञान बाँड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बलमे आफ्नो विद्यालयमा रहेका बालबालिकालाई रजस्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुसंस्कारका विषयमा जानकारी दिनका लागि नाटक मञ्चन गरिएको बताइन् ।

बालसाहित्यकार विजयराज आचार्यको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गरेका छन् भने सहायक निर्देशन भरत महर (बिटी)ले गरेका छन् ।

नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो । अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन् ।

छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरू सुन्दै आइरहेका छौँ । पहिलोचोटी महिनावारी हुँदा कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरूलाई मानसिक यातना दिइरहेका छन् ।

महिनावारी हुँदा खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरू महिला हुनुमा नै दु:खको अनुभव गर्छन् । नाटकको माध्यमबाट यी र यस्तै कुराहरूमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ ।

नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुँवर, आश्रिका अधिकारी, आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भूमिका रहेको छ ।