
बारा, १ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङ प्रणालीको शुभारम्भ गरेका छन् ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका हुन् ।
२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांक ट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ साउन १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आइरहेको छ ।
हाल अमलेखगञ्जबाट स्टक ट्रान्स्फर भइ अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ ।
ट्यांक ट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्यअन्तर्गत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांक ट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरू गरिएको हो । जसअनुसार शुक्रबारदेखि प्रहरी कल्याण कोषमार्फत सञ्चालनमा रहेको नेपाल प्रहरीको पथलैयास्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्थाअन्तर्गत सञ्चालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट सञ्चालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरू गरिएको हो ।
सबै पेट्रोल पम्पमा ढुवानी हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिन मै सम्पन्न हुने छ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले विश्वास व्यक्त गरेका छन् ।















प्रतिक्रिया