
काठमाडौं, १ भदौ । काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै गत बर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ ।
काठमाडौं परिसरमा सबैभन्दा बढी ५ सय ६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
त्यस्तै, साउन महिनामा अनलाईन ठगी सम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उनले बताए । साउन महिनामा नै विभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी उनले दिएका छन् ।
यस अवधिमा परिसरमा २ हजार ६ सय ५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सीसीटीभी क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ ।















प्रतिक्रिया