
काठमाडौं, १ भदौ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
आज बिहान सरकारी निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको हो । भेटमा सभामुख घिमिरेले सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गुर्नपर्ने बताए । प्रधानमन्त्रीसँगको भेटमा सभामुखले सदन खुलाउन सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको तर, परिणाम निस्किन नसकेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा सभामुखले भने, ‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’
छलफलमा प्रधानमन्त्री दाहालले सदन खुलाउन भूमिका खेल्ने बताएका छन् । ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’ प्रधानमन्त्री दाहालले भने ।
गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक भदौ ३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।











प्रतिक्रिया