२८ कार्तिक २०८३, शनिबार

जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगंज महानगरले सार्वजनिक मुद्दा चलाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १ भदौ । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगंज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगंज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्ने उपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए ।

“जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्”, उनले भने, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।”

सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०÷८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ”, उनले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगंजस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।