३० आश्विन २०८३, शुक्रबार

लम्पी स्किनपीडत किसानलाई क्षतिपूर्ति तत्काल दिन सरकारलाई निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । लम्पी स्किन रोगबाट मृत्यु भएका पशु चौपायाको क्षतिपूर्तिस्वरुप उपलब्ध गराइने राहत तत्काल कृषकलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ ।

सिंहदरबारमा आज बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषकको क्षति अनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरी राहत उपलब्ध गराउन र यसका लागि आवश्यक बजेट उपलव्ध गरउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले लम्पी स्किन रोगको दीर्घकालीन रुपमा पूर्ण नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने भ्याक्सिन स्वदेशमा नै उत्पादन गरी सबै किसानलाई सर्वसुलभ र सुपथ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले लम्पी स्किन जस्ता संक्रामक रोगबाट सृजना हुने संकटको अवस्थामा तीन तहको सरकारबीच समन्वय गर्नका लागि अधिकार प्राप्त समन्वयकारी निकायको गठन गरी कार्यसम्पादन गर्न पनि सकारलाई निर्देशन दिएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुषालले लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएको जानकारी दिए । १० लाख ८२ हजार १ सय ५९ पशु उपचार पश्चात् निको भएको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मृत्यु भएको उनले बताए ।

उनले सचेतना बढाउने कामका साथै उपचारको व्यवस्था गरेका कारण संक्रमण क्रमश कम हुँदै गएको दाबी गरे । विभिन्न मुलुकबाट हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरेको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकेको जानकारी उनले दिए ।

क्षतिमा पूर्णरुपमा क्षतिपूर्ति दिन नसकेपछि राहत दिनुपर्ने जोड रहेको जिकिर उनको छ । बैठकमा समिति सदस्यहरुले नेपालमा लम्पी स्किन रोगको महामारी फैलिनुको कारणबारे अध्ययन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।

समिति बैठकले पशु चौपायामा लाग्ने लम्पी स्किन लगाएतका सरुवा रोग लागेका पशुहरुको मासु दुध खान नहुने बिषयमा जनमानसमा सुसूचित गराई मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न नदिन कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।