
काभ्रे, ३० साउन । एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा २०७८ सालदेखि शुरू भएको छानबिन अझै सकिएको छैन । गृह मन्त्रालयले पछिल्लोपटक गठन गरेको छानबिन समितिले पनि अनुसन्धान टुंगो लगाउन सकेको छैन ।
‘सोमबार नागरिकताका बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपाने र जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत मनराज थापाको टोली वडा कार्यालय आएको थियो’, नमोबुद्ध नगरपालिका–११ का अध्यक्ष कृष्ण लामाले भने– ‘उहाँहरूले दावा भनिने निमा, निमाका बाबु भनिने पेमा तामाङका बारेमा बुझ्नुभयो । नागरिकताका लागि सिफारिस दिएको विषयमा जानकारी लिनुभयो । स्थानीय हो वा होइन, बसाइँ सरेका हुन् वा होइनन्, मुचुल्कासहित फर्कनुभयो ।’
२०७८ चैत्र २० गते श्यामपाटी प्रहरी चौकीले गरेको मुचुल्कामा समेत कैफियत देखिएको छ । जिल्लामा पठाइको सञ्चार क्रम संख्या १०४ मा श्यामपाटी प्रहरी चौकीको रेकर्डमा अर्को पत्र देखिन्छ । तर, जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पठाइएको उक्त मितिको सोही नम्बरको पत्रमा स्थानीयहरूले गरेको मुचुल्काको विवरण भरिएको छ । उक्त मुचुल्कासमेत चौकीमा छैन । प्रहरी हवल्दारले गरेको मुचुल्काको हवालाको पत्रमा झुटो विवरण राखेको खुलेको छ । टोलीले उक्त विषयमा समेत अनुसन्धान शुरू गरेको छ ।
दावा भनिने निमाको नागरिकताको अभिलेखमा अनुसूची गायव बनाइएको भए पनि त्यहाँ उल्लेख भएको विवरणमा गिरोहले वडानम्बर ११ को अध्यक्ष नै तत्कालीन समयमा वडानम्बर ४ मा कार्यरत वडा सचिव सरस्वती पण्डित कार्कीको नाम राखेको देखिन्छ । उनलाई समेत यो विषयमा कुनै जानकारी छैन । ‘अध्यक्ष हुँदाहुँदै वडा सचिवले नागरिकताका लागि सही गर्न मिल्दैमिल्दैन अझ वडा अध्यक्ष नै बनाएर गरिएको सिफारिस त सरासर झुटो हो’, वडा अध्यक्ष लामाले भने– ‘वडानम्बर ११ मा २०६६ सालदेखि निरन्तर शंकरप्रसाद भट्टराई सचिव हुनुहुन्छ ।’ अर्को वडाको सचिवलाई वडाअध्यक्ष बनाएर अनुसूची भरेको नागरिकता २०७४ पुस २० मा जारी भएको छ । जुन वंशजका आधारमा लिइएको हो ।
बाबु बनेका पेमा तामाङ को हुन् ? उनको नागरिकताको प्रतिलिपि र फोटोकपीसमेत कतै उपलब्ध छैन । सनाखत गर्ने व्यक्ति निमाका आफन्त हुन्, वास्तविक पेमा हुन् वा नाम मात्रै हो ? कर्मचारी संलग्नताका बारेमा पनि अनुसन्धान हुन सकेको छैन । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए भने अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेका थिए । सुब्बा रामचन्द्र अर्याल नागरिकता फाँटका हर्ताकर्ता थिए । अहिले गुर्जुधारास्थित यातायात कार्यालयमा कार्यरत छन् । उनकै अगुवाइमा ३ सय ५० वटा नागरिकता बिक्री भएको खुलासा भएको छ ।
राजनीतिक संरक्षणको आडमा उनीमाथि अनुसन्धान शुरू हुन सकेको छैन । ९८५११९८४२४ नम्बर सम्पर्क नहुने बनाएर राखेका अर्याललाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट रमाना दिने समयमा हराएका अनुसूची उपलब्ध गराउने कागजमा हस्ताक्षर गराइएको थियो ।
निमाका सन्दर्भमा पटकपटक अनुसन्धानका लागि पत्र आए, प्रहरीले समेत जानकारी उपलब्ध गरायो तर नागरिकता खारेजीको प्रक्रिया नै शुरू हुन सकेन । सुन तस्करी प्रकरणमा पक्राउ परेको एक महिना लामो अवधि भइसक्दासमेत नागरिकता रद्दको प्रक्रिया शुरू भएको छैन ।
पुनः गृह मन्त्रालयले निमासहित ३ सय ५० जनाको अनुसूचीका बारेमा छानबिन गर्न उपसचिव नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । ७ दिनको म्याद दिएको समितिले अझै अनुसन्धान सकेको छैन ।
सबै नक्कली
तिब्बतीयन मुलका दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका ११ को ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिसबिना नै बनेको हो । कर्मचारीको सेटिङमा अनुसूची १ गायव बनाउँदै दावाले बाबुको नाम पेमा र आफ्नो नाम निमा राखेर नागरिकता लिएको अभिलेखमा देखिन्छ । ‘२०७४ वैशाखमा जनप्रतिनिधि निर्वाचित भएलगत्तै नागरिकतामा सिफारिस गर्ने अधिकार कानुनले वडा अध्यक्षलाई दिएको छ’–नमोबुद्ध ११ का वडा अध्यक्ष कृष्ण लामाले भने–‘म वडाअध्यक्ष भएदेखि त्यस्ता व्यक्तिको सिफारिस नै गरेको छैन ।
उक्त व्यक्ति र उनको तीनपुस्तेलाई पनि चिन्दिनँ ।’ २०७९ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत् सीआईबीलाई पत्र पठाएको थियो । वडाअध्यक्ष कृष्ण लामाले निमालाई नागरिकता बनाउन सिफारिस नगरिएको व्यहोराको पत्र वडा कार्यालयबाट नगरपालिका हुँदै सीआईबीलाई पठाएका थिए । वडा अध्यक्ष, बाबु र कागजात नै फर्जी बनाएर प्राप्त गरेको नागरिकताका सन्दर्भमा उठेका तमाम विषयका बारेमा गृह प्रशासन अझै मौन छ ।
पहुँचमा अनुसन्धान रोकियो
राजनीतिक पहुँचका आधारमा अनुसन्धान भएर पनि कारबाहीमा नपरेका दावा भनिने निमा तामाङलाई जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत एक वर्ष अघि नै अनुसन्धान सकेको थियो । २०७९ असार २९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिकालाई पत्र पठाउँदै निमा तामाङका नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकताका आधारमा उसको तीनपुस्ते विवरण खुलाई पठाउन निर्देशन दिएको थियो ।
नमोबुद्ध नगरपालिकाले २०७९ साउन १६ गते वडानम्बर ११ लाई पत्र लेख्दै विवरण माग गरेको थियो । वडानम्बर ११ ले साउन १७ गते निमा तामाङ भन्ने व्यक्ति वडामा नभएको तथा जन्मदर्ता, सिफारिस र नागरिकतामा उल्लेख गरिएको निमा र उसका बाबु कायम गरिएका पेमा तामाङसमेत नरहेको व्यहोरा अवगत गराएको थियो । सीआईबीको टोली पनि छानबिनका लागि नमोबुद्ध ११ पुगेको थियो । त्यति बेला शुरू भएको छानबिन ढिसमिस पारियो । अध्यागमन विभागले २०७८ फागुन २७ गते नागरिकताको आधिकारिकता माग गरेको थियो भने प्रहरी प्रधान कार्यालयले समेत विवरण माग गरेको थियो । उतिबेला नै उनी नक्कली व्यक्ति हुन्, गैरकानुनी तरिकाबाट नागरिकता लिएको पुष्टि भए पनि निरन्तरताको राजनीतिक संरक्षणका आधारमा उनको नागरिकता रद्द भएको थिएन । अझै पनि भएको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।













प्रतिक्रिया