
पोखरा, २९ साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले बाढी तथा पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरूबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।
गण्डकी एमालेले आज विज्ञप्ति जारी गर्दै केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण गण्डकी प्रदेशलगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उद्धारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जनवर्गीय संगठन र सरोकारवाला सरकारी निकायहरूलाई अपील समेत गरेको छ ।
भारी वर्षापश्चात् आएको बाढीले गर्दा मुस्ताङको कागवेनी क्षेत्रका दर्जनौं घरहरू क्षतिग्रस्त भएका छन् भने करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको विज्ञप्तिमा उल्लेख छ । ‘बाढी तथा पहिरोले होटेल, बैंक, निजी घरहरू भत्काउनाका साथै कयौं सवारी साधनहरू बगाएको छ भने लोमान्थाङ्ग जाने कंक्रिट पुल पूर्णरुपले क्षतिग्रस्त हुन पुगेको छ । त्यसैगरी बेनी जोमसोम सडक खण्ड पूर्ण रुपले अबरुद्ध हुन पुगेको छ भने म्याग्दीको वैसरी तथा वेनी दर्वाङ्ग खण्डको फापरखेतमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको छ,’ विज्ञप्तिमा छ ।
यसैगरी, गोरखामा मदन–आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूर्णरुपमा क्षतिग्रस्त हुन पुगेको छ । लमजुङ्गमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण आवगमन प्रभावित भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बेसीशहरबाट मनाङ जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ । जानकारीमा आएको भन्दै विज्ञप्तिमा उद्धारका कुनै कसुर बाकी नराख्न आग्रह गरेको छ ।
















प्रतिक्रिया